चीनमा ‘क्लोनिङ’ बाट दुई बाँदरको जन्म

By:Maitri News Published Date: १६ माघ २०७४, मंगलवार ११:५६ at १६ माघ २०७४, मंगलवार ११:५६ Amazing World, Main News, Mobile News, Mobile-Top-Ad-Slider

कुनै जवान भेडीको कोष निकालेर अर्को भेडाको अन्डसँग अप्राकृतिक सेचन गरी प्रयोगशालामा जन्माइएको त्यो भेडीको नाउँ थियो– डली। उनी ‘क्लोनिङ’ विधिबाट जीवन पाउने पहिलो जनावर हुन्।

बीस वर्षपछि चीनको सांघाईस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका वैज्ञानिकले त्यही विधिबाट दुइटा बाँदर जन्माएका छन्। लामो पुच्छर भएका ती बाँदरको नाउँ झोङ झोङ र हुआ हुआ राखिएको छ।

यो बाँदर प्रजातिको पहिलो ‘क्लोनिङ’ हो। चिनियाँ प्रयोगशालामा केही साताअघि जन्मेका यी बाँदर दुरुस्तै छन्। दुवैको डिएनए आमासँग मिल्छ, जसको कोषबाट यिनको जन्म भयो।

अनुसन्धानमा संलग्न चिनियाँ वैज्ञानिक किङ सुनले मानव रोग निवारणमाथि अध्ययन गर्न वंशाणुगत रूपले दुरुस्त बाँदर खाँचो पर्ने बताए। ‘क्लोनिङ विधिबाट त्यस्ता बाँदर जन्माउँदा मानव रोग अध्ययनमा सहयोग पुग्नेछ,’ अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले किङ सुनलाई उद्धृत गर्दै लेखेको छ।

बिबिसीका अनुसार झोङ झोङको जन्म आठ साताअघि भएको हो भने हुआ हुआ जन्मेको छ साता भयो। चीनमा बोलिने मन्डारिन भाषामा यी नामको अर्थ देश र जनता भन्ने बुझिन्छ।

दुवै बाँदरलाई वैज्ञानिकले प्रयोगशालामै शिशिको दूध खुवाएर हुर्काइरहेका छन्। उनीहरूको हुर्काइ सामान्य छ। आगामी दिनमा यही विधि प्रयोग गरेर थप बाँदर जन्माउन सकिने अनुसन्धानकर्ता बताउँछन्। क्लोनिङबाट जन्माइएका दुई बाँदरमध्ये एक झोङ झोङ। तस्बिरस् एपी
‘क्लोनिङ’ बाट जन्मेको पहिलो जनावर डली आधुनिक विज्ञानको यस्तो ‘चामत्कारिक’ खोज थिइन्, जसले उपन्यास र सिनेमामा मात्र देखिने कल्पनालाई यथार्थमा परिणत गर्यो। भलै डली छ वर्षभन्दा बढी जीवित रहिनन्, तर यो खोजबाट संसार आत्तियो। ‘क्लोनिङ’ विधिबाटै भकाभक मान्छे पनि उत्पादन हुन थाल्छ र पृथ्वीको जैविक विकास प्रक्रिया नै अवरुद्ध हुन्छ भन्दै संसारभरिका अभियन्ताले यो अनुसन्धानको विरोध गरे।

यस्तो विधिबाट स्तनधारी जनावरको जन्म हुनसक्छ भन्ने पनि धेरैले पत्याएका थिएनन्।

धेरैको अविश्वासका बाबजुद ‘क्लोनिङ’ सफल भयो। धेरैको विरोधका बाबजुद यो अनुसन्धान पनि रोकिएन। बरु बीस वर्ष अवधिमा जीव विज्ञानका अनुसन्धानकर्ताले ‘क्लोनिङ’ विधिलाई अझ परिस्कृत तुल्याएका छन्।

डलीको जन्मयता अन्य २३ प्रकारका स्तनधारी जनावरको सफल ‘क्लोनिङ’ भइसकेको छ। यसमा गाई, बिरालो, मृग, कुकुर, घोडा, गधा, गोरू, खरायो र मुसा पर्छन्।

चिनियाँ वैज्ञानिकले यही सूचीमा अर्को स्तनधारी जनावर थपेका हुन्– बाँदर।

‘यो अनुसन्धान विशेष छ, किनकि यो बाँदर प्रजातिको पहिलो क्लोनिङ हो,’ बोस्टन चिल्ड्रेन हस्पिटलका निर्देशक डा। लियोनार्ड जोनले भने, ‘यसअघिका क्लोनिङको तुलनामा यो धेरै परिस्कृत छ, अब त्यो दिन टाढा छैन, जब प्रयोगशालामै मान्छेको क्लोनिङ सम्भव हुनेछ।’

‘यसले हामी कहाँ जान चाहन्छौं भन्ने प्रश्न पनि खडा गरेको छ,’ उनले भने।

बाँदर प्रजातिको क्लोनिङ प्रयास नयाँ भने होइन। यसअघि अन्य वैज्ञानिकले पनि बाँदर प्रजातिमा क्लोनिङको सुरुआत गरेका थिए।

पहिलो प्रयास सन् २००७ मा भएको थियो। अमेरिकाको ओरेगन हेल्थ एन्ड साइन्स विश्वविद्यालयका वैज्ञानिकले ९ वर्षे बाँदरको छालाको कोष झिकेर अर्को बाँदरको अन्डासँग सेचन गराएका थिए। यसबाट जन्मेको भ्रूण प्रारम्भिक अवस्थासम्म पुगेको थियो।

सन् २०१३ मा यसैगरी मानव भ्रूण उत्पादन गर्ने प्रयास पनि भएको थियो।

चिनियाँ वैज्ञानिकले यही विधिबाट बाँदरको भ्रूण उत्पादन गरेका हुन्। सुरुमा उनीहरूले १ सय ४९ वटा भ्रूण तयार पारेका थिए, जसको डिएनए आमासँग समान थियो।

प्रयोगशाला परीक्षण क्रममा ७९ वटा मात्र जीवित रहे। त्यसमध्ये स्वस्थ भ्रूण छानेर केही बाँदरको पाठेघरमा सारियो। चारवटा बाँदर गर्भवती भए। तीमध्ये दुइटा भ्रूण खेर गए भने दुइटीले उस्तै देखिने बाँदरलाई जन्म दिए।

‘हामी धेरै चरणको असफलतापछि यहाँसम्म आइपुगेका हौं,’ अनुसन्धानकर्ता सुनले बिबिसीलाई भनेका छन्।

Related Post