हाम्रो भित्रको समस्या विदेशीका सामू ‘फिराद’ गर्ने विषय होइन —डा. जयराज आचार्य ,संयुक्त राष्ट्रसंघका पूर्वराजदूत

By:Maitri News Published Date: १ जेष्ठ २०७५, मंगलवार ११:४३ at १ जेष्ठ २०७५, मंगलवार ११:४३ Interview, Mobile News, Mobile-Top-Ad-Slider


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिनको नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किसक्नुभएको छ । तर, उहाँको नेपाल भ्रमणको विषयलाई लिएर अहिले पनि निकै चर्चा परिचर्चा हुने गरेका छन् । कसैले विरोध गरेका छन् भने सकैले मोदीको नेपाल भ्रमण फलदायी र नेपालको हितमा भएको भनेका छन् । यिनै विषयमा केन्द्रित भएर संयुक्त राष्ट्रसंघका पूर्व राजदूत समेत रहनुभएको डा. जयराज आचार्यसँग मैत्रिन्युजका लागि मोहन बास्तोलाले गरेको कुराकानीः

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई तपाईँले कसरी लिनुभएको छ ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सकारात्मक हो । कूटनीतिमा वार्तालाभ, भेटघाट, आवतजावत निकै महत्वपूर्ण कुरा हुन्छ । नरेन्द्र मोदी सन् १९१४ मा प्रधानमन्त्री हुनु भन्दा अघि १७ वर्षसम्म नेपाल भ्रमणमा भारतको कुनै पनि प्रधानमन्त्री नेपाल भ्रमणमा आउनु भएको थिएन । त्यति मात्र होइन उहाँ प्रधानमन्त्री भएको तीन–चार वर्षमा तीन पटक नेपाल भ्रमणमा आउनु भएको छ । नेपालमा प्रधानमन्त्री पनि यो अवधिमा तीन–चार पटक भारत भ्रमणमा जानुभएको छ । यो सकारात्मक कुरा हो ।
नेपाल–भारत सम्वन्धमा समस्या छैन भन्ने होइन, समस्या छन् । तर, ती समस्याहरु समाधान गर्नलाई पनि त भेटघाट, छलफल, आवतजावत त चाहियो नि ? हो, त्यसकारणले यो भेटघाट छलफल कुटनीतिक हिसावले ठिक छ ।

मोदीको नेपाल भ्रमणले कूटनीतिक सन्तुलन भए पनि नाकाबन्दीको पीडामा चाहिँ मल्हम लागेन भन्ने पनि छ नि ?

मोदीजीको नेपाल भ्रमण त्यही नाकाबन्दीको पीडा कम गर्ने उद्देश्यले पनि हो भन्ने लाग्छ । नाकाबन्दीका बेला अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले त्यसैबेला पनि नाकाबन्दी नहटाएसम्म भारतको भ्रमण गर्दिन भन्नुभएको थियो । नभन्दै उहाँ नाकाबन्दी हटेपछि नै भारतको भ्रमणमा जानुभयो । हामीले उहाँसँगै त्यति बेला भारत भ्रमणमा जाने अवसर त प्राप्त गरेनौँ । तर, त्यतिबेलै पनि भारतका कूटनीतिज्ञहरु, त्यहाँका सञ्चारमाध्यमहरुले एक ढंगले नाकाबन्दी गलत थियो भन्ने महशुस गरेका थिए । अहिले पनि त्यो महशुस उनीहरुले गरेका छन् । त्यही कुरालाई मेटाउन अहिले उहाँहरुको प्रयास जारी छ । मोदीको नेपाल भ्रमण पनि त्यसैको एउटा पार्ट हो भन्ने लाग्छ । नाकाबन्दी नेपालका लागि दुर्भाग्यपूर्ण थियो त्यो भारतका लागि पनि दूर्भाग्यपूर्ण थियो । अनि मोदीको त्यो गल्तीलाई स्वीकार गर्ने अवसर पनि नेपाल भ्रमण हो । त्यसैले गल्ती स्वीकार नै नगर्ने वा गर्न नदिने कुरा पनि त उचित होइन नि ?

मोदीको नेपाल भ्रमण नेपाल प्रवेशको कारण पनि विवादमुक्त बन्न सकेन । मोदीले अन्तराष्ट्रिय विमानस्थल प्रयोग नगरेर दिल्लीबाट सिधै जनकपुर आएर प्रदेश नम्बर–२ प्रति निकै सद्भाव राख्ने काम भयो भन्ने पनि छ नि ?

त्यो अनावश्यक चर्चा र आलोचना हो । शंखराचार्य नेपाल आउँदा हवाई जहाजबाट होइन वीरगञ्जको गेटबाट आउनुहुन्छ । उहाँहरुको धर्मशास्त्र अनुसार हवाई जहाज नै चड्नुहुन्न । त्यसैले को–कहाँबाट आयो भन्ने कुरा तपशिलका कुरा हुन् । सामाजिक सञ्जालमा लेख्नेहरुले देश चलाउने त होइन नि ? जनतालाई नुन–पानी खुवाउने, पेट्रोल–डिजेल पुर्याउने, गास–वासको व्यवस्था गर्ने फेसबुकमा लेख्नेहरुले होइन नि ? सरकारले नै हो । सरकारले त जिम्मेवार भएर काम गर्नुपर्छ । फेसवुकमा लेख्नेहरुले जे–जे भन्छन् सरकारले त्यही–त्यही गर्दै जाने हो भने हामी ढुंगे युगतिर जानु पर्ने अवस्था आउन सक्छ । छिमेकीसँग झगडा गरेर त कसरी समस्या समाधान होला र छिमेकीसँग त मिलेरै जाने हो नि । अझ हाम्रो सन्दर्भमा त दुबैतिर बलिया–बलिया छिमेकी छन् । त्यसैले हामीले झगडा गरेर होइन मिलेर जाने हो, छलफल गरेर नै अघि बढ्ने हो । बोलचान नै नगर्ने, आवत–जावत नै नगर्ने, भेटघाट नै नगर्ने, पत्रपत्रिकामा आलोचना मात्रै गर्ने, गालि मात्रै गर्ने गरेर त कसरी कुटनीतिक सम्बन्ध सुधार होला र ?

शारीरिक हाउभाउ, पोशाकले पनि कुटनीति झल्किन्छ भनिन्छ । तपाईँहरु त कुटनीतिक बुझेको व्यक्ति मोदाीको शारीरिक हाउभाउ, पोशाकले कस्तो सन्देश दियो भन्ने लाग्छ ?

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शारीरिक हाउभाउ निकै प्रष्ट देखियो । उहाँले सकारात्मक सन्देश दिनुभएको छ । हाम्रो देशको प्रधानमन्त्रीसँग उहाँले भेटमा दुई पटक अंकमाल गर्नुभयो । हाम्रो प्रधानमन्त्रीको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई नरेन्द्र मोदीले दोहोर्याउनुभयो । भारतको समृद्धिको नारालाई हाम्रो देशको कुनै नेताले दोहोर्याउनु भएको छ ? त्यति मात्र होइन मोदीले जनकपुरमा गरेको सम्मानमा उहाँले मञ्चमा बसेका सबै नेताको नाम लिएर पदसहित सम्वोधन गर्नुभयो । त्यसले के देखाउँछ भने उहाँको प्रत्येक कुरामा ध्यान गएको छ । उहाँले विग्रिएको सम्वन्धलाई सुधार गर्न हरप्रयास गर्नुभएको छ । हाम्रो प्रधानमन्त्रीले पनि सम्वन्ध सुधारका लागि हरप्रयास गरेको देखिन्छ । जानकी मन्दिरमा जाँदा पनि दुबै प्रधानमन्त्रीले एक खाले पोशाक लगाउनु पनि त्यसैको संकेत हो ।
त्यति मात्र होइन मोदीले तराईलाई मात्र होइन, हिमाल र पहाडलाई पनि सद्भाव गर्छु भन्ने संकेत गर्नुभयो । उहाँले समग्र नेपालमा आफ्नो अभिरुची भएको संकेत पनि गर्नुभयो । यो सकारात्मक कुरा हो ।
सुने अनुसार उहाँ भारतको प्रधानमन्त्री हुनु अघि अझ राजनीतिमा प्रवेश गर्नु अघि कति वर्ष मुक्तिनाथमा तपस्यामा बस्नु भएको भन्ने पनि छ । त्यहाँ दामोदर कुण्डमा तपस्या गरेपछि उहाँले आफ्नो नाम नै नरेन्द्र दामोदरदास मोदी राखेको भन्ने पनि छ । त्यसैले हामीले यसलाई सकारात्मक रुपबाट लिनुपर्छ । हो, समस्या नै नभएको होइन, धेरै समस्या छन् । डुवानका समस्या छन्, नाकाबन्दीका समस्या छन् । यस्ता कुरामा पनि हामीले छलफल अघि बढाउनुपर्छ । समस्यालाई कार्पेट मुनी राखेर अनि हाँसेर हात उठाएर स्वागत र वाइवाई मात्र गरौँ भन्ने पनि होइन । यी सबै विषयमा कुराकानी गर्नका लागि पनि भेटघाट त गर्नै पर्छ ।

मोदीको जनकपुर, पशुपतिनाथ र मुक्तिनाथसम्मको यात्राले पनि उहाँले मेरो तराई, पहाड र हिमाल सबै नेपालसँग समान आस्था छ भन्ने सन्देश पनि हो भनिन्छ नि ?

हो, त्यो हो । मलाई पनि त्यस्तै लाग्छ ।

मोदीको नेपाल भ्रमणमा प्रदेश नम्बर–२ का मुख्यमन्त्रीको व्यवहार कुटनीतिक मर्यादा विपरीत भयो भन्ने आलोचना छ । तपाईँको दृष्टिकोणमा के–हो ?

मलाई पनि त्यस्तै लाग्छ । हाम्रो भित्रको समस्या विदेशीको सामू फिराद गर्ने विषय होइन । आफ्नो समस्या आफैँ भित्र समाधान गर्ने कुरा हो ।

Related Post