नीति, कार्यक्रम र बजेटमा केन्द्रित भएर योजनाका साथ अघि बढ्छौँ —ईश्वर पोखरेल ,उप–प्रधान तथा रक्षामन्त्री

By:Maitri News Published Date: ३० जेष्ठ २०७५, बुधबार १०:४२ at ३० जेष्ठ २०७५, बुधबार १०:४२ Interview, Mobile News, Mobile-Top-Ad-Slider


उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल दुई ठूला कम्युनिष्ट पार्टी एक भएपछि अब प्रगतिशील ढंगले अघि बढ्ने बताउनुहुन्छ । दुई पार्टीबीच एकीकरण भैरहँदा अब माओवादी केन्द्र भएर वा नेकपा एमाले भएर कसैले पनि सोचिरहन जरुरी नभएको बताउने पोखरेल जनचाहनाअनुरुप काम नगर्ने हो भने अर्को निर्वाचनमा असफल हुने दाबी गर्नुहुन्छ । पोखरेलसँग मोहन बास्तोलाले गरेको कुराकानीः

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि अहिले निकै शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । यो शक्तिशाली कम्युनिष्ट पार्टीको हाइकमाण्डमा तपाईँ हुनुहुन्छ । दुई पार्टीको एकीकरणलाई कसरी लिनुभएको छ ?

सबै भन्दा पहिला के बुझ्नु पर्छ भने दुई वटा कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण भनेको विचारमा एकता भएर, कार्यदिशामा एकता भएर र आउने दिनमा अब कसरी अघि बढ्नुपर्छ भन्ने सन्दर्भमा एकता भएर, सहमति भएर एक ठाउँमा आएपछि एकता भएको हो । त्यसैले यो एकतालाई सबै भन्दा पहिला यसरी बुझ्नुपर्छ । दोस्रो भनेको यी दुई कम्युष्टि पार्टीको एकता भनेको आम नेपाली जनताको चाहना हो । नेपाल कम्युनिष्ट आन्दोलनमा लागेका आम कार्यकर्ताको चाहना पनि यही हो ।
हामी निर्वाचनमा गठबन्धन बनाएर गएदेखि नै जनताले जसरी एउटा अत्यन्त उत्साहका साथ अनुमोदन गरे । त्यो अनुमोदनको अन्तिम परिणाम नै दुई ठूला कम्युनिष्ट पार्टी बीच जतिसक्दो छिटो एकता गर्नु नै थियो ।

ए भनेपछि तपाईँहरुले जनताको जनता अनुरुप नै दुई पार्टी बीच एकीकरण गर्नुभएको हो भन्ने बुझ्नु पर्यो होइन ?

हो, जनताको चहाना अनुशार नै हामी एक भएको हौँ । दुई पार्टीबीच एकीकरण भैरहँदा अब माओवादी केन्द्र भएर वा नेकपा एमाले भएर कसैले पनि सोचिरहन जरुरी छैन । यो एकता हुनु भनेको अब हामी विचारमा एक ठाउँ भएका छौँ । अब हामीले कुनै पनि हतियारबाट होइन शान्तिपूर्ण रुपमा प्रगतिशील ढंगले अघि बढ्नुपर्छ । कानुनको सर्वोच्चता, संविधानको मर्यादा, कानुनको शासन, आवधिक निर्वाचन, नियन्त्रण र सन्तुलन, शक्ति पृथकीकरण जस्ता कुरालाई मानेर अब जनताको अभिमतबाट बहुमत प्राप्त गरेका हामीले प्रगतिशील ढंगले अघि बढ्नुको अर्को विकल्प छैन । हामी यहि मान्यताका साथ एक ठाउँमा आएका हौँ । त्यसैले यो एकता भनेको कुनै अपवित्र गठबन्धन होइन । यो विचारमा एकता भएको, विश्लेषणमा एक ठाउँ भएको र आगामि दिनमा हामी एकै विचारमा कसरी अघि बढ्ने भन्नेमा सुझबुझ सहित भएको एकता हो । यी कारणले यो जनता, कार्यकर्ता र राष्ट्रको आवश्यकता हो ।

भनेपछि अब तपाईँहरु एक भएर नै अघि बढ्नुहुन्छ ?

निश्चय पनि हाम्रा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मात्र होइन सबैले विचारमा संगतिपूर्ण ढंगले अघि बढ्नुको अर्को विकल्प छैन । बेलाबेलामा विसङ्गत ढंगका कुरा आए भने त्यसले एकतामाथि प्रश्न उठाउन सक्छ ।
दोस्रो कुरा संगठनात्मक संरचनाका बारेमा हामीले गम्भीरताका साथ लिनुपर्छ । हामीले भिड मात्र जम्मा गरिहेका छैनौँ । हामीले एउटा संगठित शक्ति बनाउँदै छौँ । यो शक्ति निर्माणमा हामी गम्भीर बन्नुपर्छ ।
तेस्रो भनेको हामीले संगठन निर्माणका सन्दर्भमा नेतृत्व चयन गर्दा धेरै कुरामा ख्याल गर्नुपर्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा आउन अब हिजोको जस्तो अहज अवस्था छैन । अहिले नै प्रतिकुल अवस्था छ । यो बेला जोसुकैले पनि नेतृत्वको दाबी गर्न सक्छन् । यसमा पनि हामीले सुझ–बुझपूर्ण ढंगले अघि बढ्नुपर्छ । हामी यी कुरामा पनि गम्भीर बन्नुपर्छ । यी कुरालाई ख्याल गर्दै हामी ऐतिहासिक ढंगले विकास भएको यो एकतालाई अझ बलियो र प्रगतिशील बनाएर अघि बढाउन लाग्नुपर्छ ।

कम्युनिष्ट पार्टी स्थापना गरेको करीब ६८ वर्षपछि निकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ । यो कम्युनिष्ट पार्टी निर्माण गर्ने सन्दर्भमा तपाईको शक्तिशाली महासचिव पद उम्कियो । यसकारण पनि तपाईँ धेरै सन्तुष्ट हुनुहुन्न भन्ने चर्चा छ । तपाईँकै मुखबाट सुनौँ न कुरो त्यस्तै हो ?

यो मसँग गाँसिएको र सान्दर्भिक प्रश्न पनि भएकाले यो विषयमा मैले केही कुरा राख्नै पर्छ । म नेकपा एमालेको दुई पटक निर्वाचित भएको महासचिव हुँ । विधान र मेरो स्प्रीट पनि के–हो भने दुई पटक भन्दा बढी एउटै महासचिव पदमा एउटै व्यक्ति रहनु हुँदैन भन्ने नै हो । म फेरि तेस्रो पटक एउटै कार्यकारी पदमा रहनु उचित हुँदैन भन्ने मान्यता राख्ने एमाले भित्रको एउटा व्यक्ति म पनि हुँ । त्यसैले म महासचिव नभएको कुरालाई मैले अन्यथा रुपमा लिएको छैन र अरुले पनि लिनु आवश्यक छैन भन्ने मेरो तर्क हो ।
दोस्रो कुरा, म अहिले सरकारको मन्त्री छु अर्थात म यता कार्यकारी पदमा नै रहेको छु । यस्तो अवस्थामा फेरि कार्यकारी पदमा पार्टीमा पनि रहने कुराले जसरी संगठनलाई यो अन्तरघुलनको समयमा पुर्नव्यवस्थापन गर्ने कुरामा असहजता हुने थियो ।
त्यसैले अब कसले के पायो वा पाएन भन्ने भन्दा पनि सबै जिम्मेवार ढंगले लागि परेर अघि बढ्नु नै अहिले सबै भन्दा श्रेयकर हुन्छ । अब जुन नेताले जिम्मेवारी पाए पनि जिम्मेवारी कुशल ढंगले पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।
यतिबेला संगठननात्मक व्यवस्थापन, कार्यालय व्यवस्थापन लगायतका कुरालाई छिटो अघि बढाउनका लागि कसै न कसैले विशेष जिम्मा लिनै पर्छ । यो बाध्यता नै थियो । त्यसैले अब म एकीकृत पार्टीको महासचिव बने भनेर दंग पर्ने वा परिन भनेर नाक खुम्च्याउने होइन जिम्मेवारीलाई पूरा गर्नु चुनौतिपूर्ण कुरा हो ।

तर, सुरुमा त दुई अध्यक्ष मात्र राख्ने सहमति भएको र पछि फेरि वरिष्ठ नेता, महासचिव र प्रवक्ताको पनि पद सिर्जना भएको भनिन्छ नि ?

सुरुमा पार्टी एकता संयोजन समितिमा छलफल हुँदा पनि दुई वटा अध्यक्ष रहने अरु कुनै पनि पद सिर्जना नगर्ने भन्ने थियो । अन्तरिम विधान पारित गर्दै गर्दा पनि हामीले त्यही कुरालाई स्वीकार गरेका थियौँ । तर, पछि यसरी वरिष्ठ नेता, महासचिव र प्रवक्ताका विषयमा कुनै पनि छलफल भएन । एकैचोटि अन्तिममा महासचिव पनि राख्ने भन्ने कुरा आएपछि त्यो प्रक्रियालाई पनि स्वीकार गरेको अवस्था हो । वरिष्ठ र प्रवक्ताको कुरा पनि त्यस्तै हो ।

तपाईँ उपप्रधान तथा रक्षामन्त्री पनि हुनुहुन्छ । सरकारका सय दिनलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ ?

आम कार्यकर्ता र विपक्षीहरुले पनि के बुझ्न जरुरी छ भने हामीले सँगै निर्वाचनमा चुनाव लड्दा घोषणापत्र पनि संयुक्त नै बनाएका थियौँ । हामीले घोषणापत्रमा हाम्रा साझा प्रतिवद्धता व्यक्त गरेका थियौँ । अहिले हामी सरकारमा छौँ । अब हामीले प्रतिवद्धता व्यक्त गरेका घोषणापत्रलाई राज्य सञ्चालनका जिम्मेवार पार्टीहरुले राज्यका नीतिमा अनुवाद गर्न जरुरी छ । हामीले नीति तथा कार्यक्रम र बजेटमा ती प्रतिवद्धतालाई सकेसम्म अनुवाद गर्ने प्रयास गरेका छौँ ।
अहिले हामी करीब–करीब नयाँ डेरा सरेको व्यक्तिले त्यहाँको फोहोर–मैलालाई सिनित्त पारेर बसेको जस्तो अवस्थामा छौँ । हिजोदेखिका कतिपय वेथितिहरुलाई ठिकठाक पारेर नयाँ ढंगले अघि बढ्नु पर्ने अवस्थामा पनि छौँ । हामीले नीति, कार्यक्रम र बजेट ल्याएको छौँ । हामी यसैमा केन्द्रित भएर योजनाका साथ अघि बढ्छौँ । कतिपय अवस्थामा हिजोका प्रतिवद्धता अनुसार काम भए वा भएन भनेर प्रश्न पनि उठाउन सक्छन् । तर, म एउटा विश्वास दिलाउन चाहन्छु । हामीले निर्वाचनका बेला व्यक्त गरेर प्रतिवद्धतालाई वा सरकार सञ्चालन गर्ने जिम्मेवारीलाई पूरा गर्ने गरी अघि बढ्ने छौँ । हामीलाई अब गफमात्र गर्ने तर काम नगर्ने छुट छैन । हामीले गफ गर्ने र प्रतिवद्धतामा ढिला–सुस्ती गर्ने हो भने हामीलाई जनताले उत्तिण हुने छुट दिने छैनन् ।
जनताले राखेको चाहना हामीले पूरा नगर्ने हो भने आगामी पाँच वर्षमा हाम्रो लोकप्रियता घटेर जानेछ र त्यसले परिणाम पनि नकरात्मक नै दिनेछ । हामीले प्रतिवद्धता अनुरुप काम गर्यौँ तालि पाउँछौँ । प्रतिवद्धता अनुसार काम गरेनौँ भने गाली पाउँछौँ ।

Related Post