आदिवासीसँग जोडिएको साहित्य

By:Maitri News Published Date: २५ श्रावण २०७५, शुक्रबार १४:५६ at २५ श्रावण २०७५, शुक्रबार १४:५६ Literature, Mobile News, Mobile-Top-Ad-Slider

काठमाडौँ । विश्व आदिवासी दिवस साउन २४ ९९ अगस्ट० मा मा विगतमा सडकमा अधिकारका निम्ति चर्को नाराबाजी हुन्थ्यो । यस पटक पनि नाराबाजी उस्तै रह्यो, तर नारा लाउनेहरू फरक थिए, मौलिक पहिरनमा । जस्तो, बीएमटी तेस्रो सेमेस्टरकी पूर्णिमा गुरुङ ।

‘सधैं तमु ल्होछारमा मात्र सहभागी हुन्थें,’ तमु समाज, धापासीको हूलमा भेटिएकी उनले भनिन्, ‘यस पटक आमा र बाबासँगै आदिवासी दिवस मनाउन आइपुगें ।’

बिहीबार भृकुटीमण्डपबाट निस्किएको सांस्कृतिक र्‍यालीमा गीत, बाँसुरी, ढोल, झ्याम्टा, डम्फु, ढ्याङ्ग्रो, घण्ट गुन्जिरहे । चमर हल्लिइरहे । पंक्तिमा थिए गोन्पो, लामा, पच्युहरू पनि ।
ह्वीलचेयर प्रयोगकर्ता चेलीहरू रजिता खडका, सोनिता लामा, गंगा छन्त्याल, संगीता सिलवाल र जमुना तामाङले राष्ट्रिय सभागृहमा आयोजित औपचारिक समारोहमा ‘हामी नेपाली, हाम्रो नेपाल’ गीतमा ह्वीलचियरबाटै नृत्य प्रस्तुत गरे  ।

उता, किरात सुनुवार सेवा समाज, गोकर्णेश्वर नगर समितिको प्रतिनिधित्व गर्दै कमल सुनुवार मौलिक पहिरनमा थिए । उनले चारवर्षे छोरालाई समेत मौलिक पोसाकमै डुलाइरहेका थिए । ओखलढुंगे यी किरातीले पहिरिएका थिए, खाँडीका दौरा–सुरुवाल, ढाका टोपी र जाली रुमाल । नेपाल मगर महिला सांस्कृतिक संघको प्रतिनिधित्व गरिरहेका उपाध्यक्ष अमला थापामगर र हीरामाया थापामगर रातो चोला, घलेक, पछयौरा, पटुकीमा थिए । थारू महिला सभा, उपत्यका कार्यसमितिबाट सहभागी तारा चौधरी पातलो नीलो साडी, चोला, शिरमा मानटिका, कानमा थारु कल्याणकारी सभाको लोगो अंकित झुम्का, चन्द्रहार, बाजु, जन्तर, हँसुली, सुतियार, खुट्टामा कारा । मुजबाट बनेको सिपीको खपटा प्रयोग गरिएको ढकियाले धेरै आँखा तानेका थिए ।

किरात राई यायोक्खाको झाँकीमा यलम्बरको भेषमा थिए– विजय छाङछा राई । होचो कदमा खाँडीका दौरा सुरुवाल, अल्लोको जुहारी कोटी, ढाका टोपी, सपक्कै पटुकी कसेर खुकुरी भिरेका । मुगुको प्रतिनिधित्व गर्दै थिइन्, सोनाम याम्की मुगाल । स्याको ९फरिया०, केव्य, तोजी, न्यानु, कारा पहिरिएकी थिइन् । पूर्वी धनकुटाकी इन्दिरा जिमी किराती याक्खा पहिरनमा थिइन् ।

ललितपुरको दक्षिण भेगका रजनी गोले, नम्रता डिमडुङ, कल्पना जिम्बा, श्याम लामाहरू घलेक, आङगी लगायत मौलिक पहिरनमै थिए। ‘आजै त हो आफ्नै भेषभूषा, आफ्नो पहिचान सबैलाई देखाउने,’ मुस्कुराउँदै रजनीले भनिन्, ‘भाग्यमानी पुस्ता हामी नै हौं । कम्तीमा मौलिक भेषभूषा लगाउने, संस्कृति जोगाउने अवसर पाएका छौं ।’

Related Post