सिक्टा सिंचाइको मूल नहर एक सयभन्दा बढी ठाउँमा भत्कियो

By:Maitri News Published Date: २७ श्रावण २०७५, आईतवार ११:०७ at २७ श्रावण २०७५, आईतवार ११:०७ Breaking News Main, Business, Main News, Mobile News, Mobile-Top-Ad-Slider, News

सिक्टा सिँचाइ । सिक्टा सिँचाइ आयोजनाको मूल नहरको सयभन्दा बढी ठाउँमा कामै नलाग्ने गरी भत्किएको छ। पहिलो र दोस्रो चरणमा निर्माण गरिएको सिक्टा बाँधस्थल अगैयादेखि ढकेरीसम्मको ३५ किमि नहर कामै नलाग्ने गरी भत्किएको हो। ४५ किलोमिटर लामो मूल नहरमा कतै जमिनबाट प्वाल परेको छ भने कतै नहरको स्लोप झरेको छ। नहरमा जम्मा भएको पानी ठाउँठाउँबाट चुहिरहेकाले अझै धेरै ठाउँमा भत्किने खतरा छ। नहरको अधिकांश भागमा कुनै न कुनै समस्या रहेकाले सजिलै पानी बग्ने सम्भावना थोरैमात्र देखिन्छ।

नहरको करिब ३५ किलोमिटर क्षेत्र राप्तीसोनारी गाउँपालिकामा पर्छ। गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले अधिकांश मूल नहर निर्माण कार्य सकिएको केही समयमै भत्किएको बताइन्। ‘निर्माण सुरु गर्दा हामीले काम गुणस्तरहीन काम भयो भनेर आवाज उठाएका थियौं,’ खत्रीले भनिन्, ‘त्यतिबेला हाम्रो आवाज बेवास्ता गरियो। अहिले ठूलो समस्या आयो ।’ खत्रीका अनुसार मूल नहरको २४ किलोमिटर भाग जीर्ण भइसकेको छ।

राष्ट्रिय गौरवको उक्त आयोजनाको ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो। कालिकाले बनाएको नहरको खण्ड किसानको खेतमा पानी नपुग्दै भत्किएको छ। पहिलो र दोस्रो खण्डको नहरको तुलनामा तेस्रो खण्डको नहर ९३६–४५ किमि० मा समस्या केही कम छ। तेस्रो खण्ड सहज र बजार क्षेत्रमा पर्ने भएकाले चलाखीस्वरूप ठेकेदार कम्पनीले तुलनात्मक रूपमा राम्रो काम गरेको हुनसक्ने स्थानीय ठान्छन्।

सर्वाधिक बिग्रिएको ०–३५ किलोमिटर खण्डको मूल नहर अधिकांश भाग बाँके राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा पर्ने भएकाले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको स्थानीयको भनाइ छ।

राप्तीसोनारी गाउँपालिका, महादेवपुरीकी शोभा ओलीले ठेकेदारले निकै सस्तो दरमा स्थानीय ठेकेदारलाई काम दिँदा निर्माण कार्य गुणस्तरहीन भएको बताइन्। ‘नहरको ढलान गर्दा एक बोरा सिमेन्ट बराबर ५÷६ बोरा बालुवा मिसाउनुपर्ने हो,’ उनले भनिन्, ‘हाम्रैअगाडि एक बोरा सिमेन्टमा १४ बोरा बालुवासमेत मिसाएको देखेका थियौं।’ ठेकेदारले छड र अन्य निर्माण सामग्री पनि कमसल प्रयोग गरेको उनको भनाइ छ।

पूर्वमन्त्री तथा राप्रपाका नेता प्रेमबहादुर भण्डारीले मूल नहर बनाउने ठेक्का पाएको कम्पनीले कमिसन खाएर चौथो कम्पनीसम्मलाई ठेक्का दिएको बताए। ‘मुख्य ठेकेदारले कमिसन खाएर दोस्रोलाई र दोस्रोले कसिमन खाएर तेस्रो, चौथोसम्म पुग्दा काम कसरी गुणस्तरीय होलारु’ उनले प्रश्न गरे।

ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गर्दासमेत अनुगमन र निगरानी गर्ने जिम्मा लिएको सिक्टा सिँचाइ आयोजना कार्यालयका इन्जिनियर र परामर्शदाताले बेवास्ता गरेको स्थानीयको आरोप छ। सर्वसाधारणले निर्माणको गुणस्तरबारे प्रश्न उठाइरहेको बेला आयोजनाका कुनै पनि इन्जिनियरले अहिलेसम्म ठेकेदार कम्पनी कालिकालाई प्रश्नसमेत सोधेको छैन।

राप्तीसोनारी गाउँपालिका–२ का रामदास थारू आयोजना कार्यालय र ठेकेदार कम्पनीको मिलेमतोका कारण सिक्टाको काम गुणस्तरीय नभएको बताउँछन्। परीक्षणका क्रममा पटकपटक नहर भत्कन थालेपछि आयोजना कार्यालयका कर्मचारीले घुलनशील माटोका कारण समस्या आएको बताए पनि स्थानीय भने गुणस्तरहीन काम र डिजाइनमा त्रुटि रहेको बताउँछन्। पूर्वमन्त्री भण्डारी भन्छन्, ‘उत्तरतिरबाट आउने पानी मूल नहरमा पस्न नदिने डिजाइन गरिनुपर्ने थियो। तर, आयोजनाले त्यसो गरेन। जसले गर्दा वर्षात्मा जंगलको पानीले निकास पनि पाएन।’ घुलनशील माटोका कारण नहर भत्किएको दाबी गर्नु अनियमितता लुकाउने प्रयत्नमात्र भएको स्थानीय बताउँछन्।

पहिलोपटक २०७३ असार १४ गते परीक्षणका क्रममा भत्किएको यो नहर फेरि गत साउन ७ गते परीक्षणका क्रममा भत्किएको छ। ५० क्युमेक्स पानी चढाउने गरी बनाइएको मूल नहरमा साउन ७ गते ४ क्युमेक्स पानी पठाउँदा भत्किएको थियो। थोरै मात्रामा पानी पठाउँदा चंगाई नाला नजिकै मूल नहर भत्किएपछि सोही नहरका कारण पानी आसपास गाउँमा पसेर बगाउने खतरा बढेको स्थानीय बताउँछन्।

राप्तीसोनारी गाउँपालिका–८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले सिक्टाको कमसल नहरका कारण १२ हजार सर्वसाधारण जोखिममा परेको बताए। ‘चार क्युमेक्स पानी धान्न नसक्ने नहरमा ५० क्युमेक्स पानी पठाइयो भने महावदेपुरी, शमशेरगन्ज, ढकेरी, कचनापुर, टिकुलीपुरलागयतका गाउँ डुब्नेछन्,’ उनले भने।

१४ अर्ब ७० करोड रुपैयाँ खर्च भएको उक्त आयोजनामा सन् २००९ देखि २०१५ सम्म कालिकाले मूल नहर बनाएको हो। मूल नहर निर्माण गर्दा साढे ६ अर्ब रुपैयाँ खर्च भएको छ। किसानको खेतमा पानी नपुग्दै नहर भत्किए पनि कालिकाले क्षतविक्षत अवस्थामा पुगेको नहर मर्मत नगर्ने दाबी गर्दै आएको छ।
आयोजना कार्यालयले सन् २०१६ मेपछि मूल नहरको मर्मतसुधारको दायित्व ठेकेदार कम्पनीको हुने सम्झौता नवीकरण गरेको छैन। जुनसुकै आयोजना सम्पन्न भएको एक वर्षसम्म मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीको हुने कानुनी व्यवस्था छ। आयोजना कार्यालयले मूल नहर मर्मत र सुधारको दायित्व ठेकेदारको हुने सम्झौता नवीकरण नगर्दा कार्यालय र ठेकेदारबीच मिलेमतोको आशंका गरिएको छ।

सिक्टा सिँचाइ निर्माणमा भएको अनियमिताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनसुन्धान आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको खबरले स्थानीय हर्षित छन्। तर, उनीहरूले छानबिनका क्रममा झारा टार्ने काम मात्र नहोस् भन्ने माग गरेका छन्। राप्तीसोनारी–२ का बासिन्दा तथा पूर्वमन्त्री भण्डारीले समितिका पदाधिकारीले मूल नहरको स्थलगत अध्ययन गरी सर्वसाधारणलाई सोधपुछ गर्नुपर्ने बताए।

राप्तीसोनारी गाउँपालिकाकी उपाध्यक्ष खत्रीले सिक्टा छानबिनका लागि गठित समितिले दोषीमाथि कारबाही गर्नका लागि वास्तविकता खोजी गर्नुपर्ने बताइन्। सोही गाउँपालिका–२ का वडाध्यक्ष मदन ओलीले छानबिन समितिलाई छिटै फिल्डमा खटिन माग गरे।

Related Post