पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए । पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपतिमा हुनुहुन्छ ।

पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम बुधबार प्रमाणित गरेसँगै आरिफ अल्भी निर्वाचित भएको घोषणा गरिनेछ ।

निर्वाचन आयोगका अनुसार, अल्भीले संसदको माथिल्लो र तल्लो सदनबाट २१२ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा भाग लिएका पाकिस्तान पिपुल्स पार्टीका ऐजाज अहसनले ८१ तथा पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग समर्थित मौलाना फज्लुर रहमानले १३१ मत प्राप्त गर्नुभएको थियो ।

अल्भीले चारवटा प्रान्तीय सभाबाट पनि सबैभन्दा बढी मत पाउनुभएको थियो ।

विपक्षी दलहरुका तर्फबाट एकजना मात्र उम्मेदवार उठाउने प्रयत्न भएपनि सो सम्भव भएको थिएन ।

वर्तमान राष्ट्रपति मामून हुस्सैनको कार्यकाल सेप्टेम्बर ९ मा समाप्त भएसँगै नवनिर्वाचित राष्ट्रपति अल्भीले सपथ लिनुहुने बताइएको छ ।