निर्मला पन्त बलात्कार प्रकरणमा पाँच प्रहरी निलम्बित

काठमाडौँ । कञ्चनपुरमा बलात्कारपछी हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्त बारे अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक डिएसपी अंगुर जिसीसहित पाँच प्रहरी अधिकारी निलम्बनमा परेका छन् ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीद्धारा शनिबार साँझ जारी विज्ञप्तिमा उनीहरुलाई आजैको मितिबाट निलम्बन गर्ने निर्णय गरिएको छ । घटनाको छानबिन गरिरहेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय समितिले शनिबार गृहमन्त्री रामबहादुर थापा बादललाई प्रारम्भीक प्रतिवेदन बुझाएको छ ।

डिएसपी जिसी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत तत्कालिन डिएसपी ज्ञान बहादुर सेटीसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

शनिवार साँझ गृह मन्त्रालयले प्रकाशित गरेको प्रेस विज्ञप्ती अनुसार घट्नाको अनुसन्धानमा संलग्न प्रहरी निरीक्षकहरु जगदिश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक ९असई० रामसिंह धामी निलम्बनमा परेका हुन् ।

मन्त्रालयका सह–सचिव हरि प्रसाद मैनालीको नेतृत्वमा गठीत उच्चस्तरीय छानविन समितीले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा निलम्बनमा परेका अनुसन्धान अधिकृतहरुमाथि समेत आन्तरिक अनुसन्धान हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शंकास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए ।

यसअघि तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई पनि गृह मन्त्रालयले निलम्बित गरिसकेको छ । घटनाले उग्ररुप लिएपछि गृहमन्त्रीले प्रहरी प्रमुख बिष्टलाई हटाएर एसपी कुवेरबहादुर कठायतलाई पठाएका छन् ।