प्रदेश २ सरकारले संविधान दिवस मनाउने

जनकपुर । राष्ट्रिय जनता पार्टी राजपा ले संविधान दिवसको बिरोध गर्न मन्त्रीहरु नै खटाउने निर्णय गरेका बेला संघीय समाजवादी फोरम र राजपा गठबन्धनको प्रदेश २ सरकारले संविधान दिवस मनाउने तयारी गरेको छ । दिवसका दिन गरिने कार्यक्रम भने टुंगो लगाउन बाँकी छ ।

प्रदेश सरकारका मन्त्रालयहरु रहेको जनकपुर चुरोट कारखाना परिसरमा संविधान दिवसका दिन बृक्षारोपण गर्ने सरकारको तयारी छ। ‘संविधान दिवसका दिन बृक्षारोपण गर्ने कार्यक्रम मात्र तय भएको छ,’ प्रदेश २ का प्रमुख सचिव राजेन्द्रमान सिंहलेभने, ‘अरु थप कार्यक्रमका लागि छलफल भइरहेको छ।’

दुवै मधेसवादी दलले यसअघि संविधान दिवसलाई कालो दिवस भनेर मनाउँथे। प्रदेश २ मा आफ्नै सरकार र संघीय सरकारलाई समर्थन गरेकाले असोज ३ गते संविधान दिवसलाई हर्षोल्लासपूर्वक मनाउने कि बिरोध गर्नेरु दुवै दल धर्मसंकटमा फसेका छन्।

संघीय सरकारले असोज ३ गते संविधान दिवस मनाउन प्रदेश सरकारलाई पत्राचार गरेको छ। त्यही पत्रको आधारमा प्रदेश २ को सरकार मूल समारोह समिति गठन गरेर संविधान दिवस मनाउने तयारीमा छ। ‘संविधान दिवस मनाउनका लागि समारोह समिति गठन हुन बाँकी छ,’ प्रमुख सचिव सिंहले भने, ‘संविधान दिवसको दिन कुन–कुन कार्यक्रम गर्ने त्यही समितिले टुंगो लगाउने छ।’ उनले प्रदेश सरकार पनि संविधानकै प्रावधान अनुसार बनेकोले संविधान दिवस मनाउनैपर्ने बताए।

प्रदेश सरकारको गठबन्धन दल राजपाले भने संविधान दिवसको दिन मधेसमा बिरोध प्रदर्शन गर्ने निर्णय गरिसकेको छ। अर्को मधेसवादी दल फोरम भने मौन छ। तर, यी दुवै दलको सरकारले भने संविधान दिवस मनाउने तयारी थालेको छ। राजपाले प्रदेश २ का मन्त्री र राज्यमन्त्रीलाई संविधान दिवसको दिन आयोजना हुने बिरोध सभालाई सम्बोधन नै गर्न खटाएको छ।

राजपाको अध्यक्ष मण्डलको भदौ २५ देखि २८ गतेसम्म काठमाडौंमा बसेको अध्यक्ष मण्डलको बैठकले संविधान दिवसको बिरोधमा प्रदेश २ का मन्त्रीलाई खटाएको छ।